वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा पर्ने गण्डक नहरको एक पुल भासिएको छ । तिलावे नदीमाथि बनेको पुलको एक पिल्लर पूर्ण रूपमा भासिएको छ ।
१३ पिल्लर रहेको यस पुलको बीच भागमा रहेको पिल्लरमा ठूला चिराहरू परेपछि दुई भागमा विभाजित भई पुल नै भासिएको हो । यसै कारण, पुलबाट यातायात पूर्ण रूपमा ठप्प भएको छ । तीन महिना पहिले नै तिलावे नदीमा रहेको उक्त पुलमा चिराहरू देखिएका थिए ।
पछिल्ला दिनहरूमा परेको वर्षाले नदीमा पानीको बहाव बढाएपछि पिल्लरको अवस्था अझ बिग्रिएको हो । पुल जोखिमपूर्ण अवस्थामा पुगेकाले अहिले साना ठूला सबैखाले सवारी साधन र साइकल, मोटरसाइकलहरूको आवागमन पनि रोकिएको छ ।
गण्डक नहरको व्यवस्थापन गर्ने नारायणी सिँचाई कार्यालयले दुई महिना पहिले नै ठूला सवारी साधनहरूलाई पुल पार गर्न प्रतिबन्ध लगाएको थियो । तर, समयमा मर्मत नगरेका कारण अहिले पिल्लर झनै क्षतिग्रस्त भएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २२ मा पर्ने अर्को पुलमा पनि बीच भागमा ठूलो भ्वाङ परेको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलादेखि बारा जिल्ला हुँदै रौतहटसम्म फैलिएको गण्डक नहरको बाटो सडक विभागले कालोपत्रे गरेपनि पुलहरू भने जीर्ण अवस्थामा छन् ।
८१ किलोमिटर लामो गण्डक नहरलाई १५ ब्लकमा विभाजन गरिएको छ, जसमा ३ हजार ५७४ वटा पुल, पुलेसा र कल्भर्टहरू रहेका छन् । २०३० सालमा उद्घाटन गरिएको यस नहरमा धेरै स्थानहरूमा मर्मत सम्भारको आवश्यकता देखिएको भएपनि ध्यान दिइएको छैन ।




