वीरगंज । वीरगंज महानगरको बजार अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटमा छापामारी गरेको छ । अनुगमनको क्रममा म्याद समाप्त भइसकेका खाद्य सामग्रीहरू फेला परेको महानगर बजार अनुगमन समितिका सदस्य विपिनलाल दासले जानकारी दिए ।
उनका अनुसार समितिको नयाँ कार्यविधि अनुसार १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान रहेको छ, र भाटभटेनीलाई आज १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस अनुगमनमा जिल्ला प्रशासन, वाणिज्य कार्यालय र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
तर वीरगंजका साना पसलहरूलाई गरिने जरिवानाको तुलनामा ठूलो व्यापारिक केन्द्रहरूलाई कम जरिवाना गरिँदा आलोचना भएको छ । वाणिज्य कार्यालयले तीन लाखसम्म र जिल्ला प्रशासनले दश लाखसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ, तर महानगरले न्यून जरिवाना गरेर जिम्मेवारीबाट उन्मुक्ति दिने प्रयास गरेको आरोप छ ।




