काठमाडौं । चीनको हाङचाउस्थित स्पोर्ट्स सेन्टर जिम्न्यासियममा सेप्टेम्बर २० देखि २२ सम्म २० औं एसियाली सिनियर कराते च्याम्पियनसिप आयोजना हुँदैछ । यस प्रतियोगितामा नेपालका ११ खेलाडीले सहभागिता जनाउने छन् । १८ सदस्यीय नेपाली कराते टोली मंगलबार चीनतर्फ प्रस्थान गर्नेछ ।
पुरुष ६० केजीमुनि मीनबहादुर तामाङ र ८४ केजीमुनि मोहम्मद शेखु आलमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई इलाइट स्कुल अफ हस्पिटालिटीका प्रबन्ध निर्देशक अदिप सिलवालले आर्थिक सहयोग गरेका छन् भने बानेश्वर गार्डेनका कृष्ण थापाले बिदाइ गरेका छन् ।
यसैगरी, प्रतियोगितामा सहभागी महिला ६८ केजीमाथि तौल समूहमा एरिका गुरुङले प्रतिस्पर्धा गर्नेछिन् । अन्य महिला खेलाडीहरुमा ५५ केजीमुनि जिया कार्की, ६१ केजीमुनि निरुपा दोङ तामाङ तथा टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापा समावेश छन् । एलिसाले एकल कातामा पनि भाग लिनेछिन् ।
पुरुषतर्फ ६० केजीमुनि मीनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमाथि आशिष श्रेष्ठ र एकल कातामा स्वनिम मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । सबै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव सँगालेका छन् । सन्तोष, शेखु, स्वनिम, निरुपा र एलिसा १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।
टोलीको मुख्य प्रशिक्षक कुशल श्रेष्ठ हुन् भने प्रशिक्षकमा सागका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठ रहेका छन् । व्यवस्थापकमा नेपाल कराते महासंघका उपाध्यक्ष मजेन्द्र सिंह र सदस्य रवि महर्जन छन् । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले पनि एसियाली कराते महासंघको कंग्रेसमा सहभागी हुनेछन्, जुन सेप्टेम्बर १८ मा हाङचाउमा हुनेछ ।
यस प्रतियोगितामा ३१ राष्ट्रका ३६७ खेलाडीले १७ विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुषतर्फ ९ र महिलातर्फ ८ स्पर्धा समावेश छन् । नेपालले अहिलेसम्म एसियाली सिनियर कराते च्याम्पियनसिपमा कुनै पदक जित्न सकेको छैन ।






