महोत्तरी । मधेश प्रदेशको व्यस्त सडक मानिएको पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ । जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर सडकपेटीलाई कमाउने धन्दा बनाउने गरेको तथ्य बाहिरिएपछि बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक खुलासा भएको हो ।
सडक किनारामा राखिएका ठेलागाँडा पसलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन् । ‘म जहिल्यै ढल्केवरबाट ठेलामा सामन ल्याएर यँहा बेच्ने गर्छु ।’ दिपक भनिने एक ठेला व्यापारीले भने । ‘पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि बाहिरबाट यँहा नै आउनुहुन्छ ।’ अन्य ठाउँमा सामान लिएर जाँदा व्यापार नहुने र बर्दिबासका सडक किनारामा राख्दा भने जस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले बताएका छन् ।
सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो बढीरहेको भन्दै बर्दिबास नगरपालिकाले विहान बेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ । तर, यस्का बाबजुत पनि सडकको दुरावस्था यथावत रहिरहेको बेला ठेला गाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।
कस्लाई दिन्छन् पैसा ?
ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उनकै माध्यमबाट पैसा सम्बन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ । यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गरेका छन् । बजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उनले बताए ।
‘मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।’ उनले भने । ‘यति भएपछि यँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ ।’ ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनि त्यँहा व्यापार नहुने गरेको उनिहरुको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन बाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामिलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।
बजारको ठेक्का पाएका विजय महतोले पनि पैसा आफूलाई ठेला गाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गरेका छन् । ‘मलाई माछामासु खानु भनेर उनिहरुले नै दिएका हुन् । मैले मागेको हैन ।’ उनले भने । ‘यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।’
तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पसलहरु राखेर सडक अस्तव्यस्त बनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेला गाँडाहरुलाई किन हटाएनन् भन्ने गम्भीर प्रश्न बनेको छ । ‘विजय महतोको माध्यमबाट सबै विषय बाहिर आउन सक्छ ।’ स्थानिय व्यवसायी गुन्ज कार्कीले भने । ‘जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो बनाउने जो कोहीलाई कडा कारवाही गर्नुपर्छ ।’
कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दु:खद छ : उधोग बाणिज्य संघ
कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती बनाएका जो कोहीलाई कानुनी दायरामा ल्याउनु पर्ने उधोग बाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताए । नगरपालिकाको संरक्षण देखिने गरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दुस्खद भएको बताउदै सडक ब्यापार दुर्घटनाको कारक एकातिर बन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको बताउँछन् ।
‘विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्यँहा राख्न दिए भन्ने विषय महत्त्वपूर्ण हो ।’ अध्यक्ष खडकाले भने । ‘यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन् भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?’
ठेला गाँडामा राखिएका पसलहरुको कारण अस्तव्यस्त बनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए । नगर प्रवक्ता विजय महतोले भने यस विषयमा छानविन गर्ने बताएका छन् । ‘बजार व्यवस्थापन समितीमा छलफल गरेर बुझ्नेछु ।’ प्रवक्ता महतोले भने । ‘मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौं ।’ न्युज कारखाना




