जनकपुरधाम । मधेश प्रदेशका बालबालिकामा कुपोषणको गम्भीर समस्या रहेको तथ्यांकले देखाएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा धेरै बालबालिकाले अकालमा ज्यान गुमाउने गरेका छन् ।
मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषणगृहका अनुसार कुपोषणले बालबालिकामा मुटु रोग, श्वासप्रश्वासको समस्या, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासको कमी र पुड्कोपन जस्ता समस्याहरू निम्त्याउने गरेको छ ।
अस्पतालका तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा १८६ बालबालिका कुपोषणका कारण जनकपुर अस्पतालमा भर्ना भएका थिए भने आव २०८०/८१ मा यो संख्या बढेर २१६ पुगेको छ ।
बालरोग विभागमा दैनिक १५० देखि २५० बालबालिकाले उपचार लिने गरेका छन्, जसमध्ये हरेक १० मध्ये ४ जना कुपोषित हुने गरेका छन् । यो समस्या विशेष गरी छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा बढी देखिएको छ ।
कुपोषणको मुख्य कारण गरिबी, अशिक्षा, आर्थिक अभाव, चेतनाको कमी र समयमा उपचार नगराउनु हो । दलित तथा पछाडि परेको समुदायमा यो समस्या अत्यधिक रहेको पाइन्छ ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशभरका करिब ५१ प्रतिशत बालबालिकामा रक्तअल्पता, २९ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा क्षयरोगजस्ता कुपोषणका समस्या देखिने गरेको जनाएको छ ।
मधेशमा प्रत्येक वर्ष करिब १ लाख ४० हजार बालबालिका जन्मिन्छन्, जसमध्ये प्रति हजार जीवित जन्ममा नवजात शिशु मृत्युदर २१ र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजार ३३ रहेको छ । कुपोषण यो समस्याको मुख्य कारण हो ।
पछिल्लो पाँच वर्षमा कुपोषणको समस्या घट्न नसकेपछि प्रदेश सरकारले विभिन्न पोषणसम्बन्धी कार्यहरू अगाडि बढाएको छ । यस वर्षको लागि सरकारले पोषणसम्बन्धी कार्यक्रमका लागि १० करोड रुपैयाँ छुट्याएको छ ।
प्रादेशिक अस्पताल जनकपुरधाम, पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल र राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पोषणगृहहरू सञ्चालनमा रहेका छन् । कुपोषित बालबालिकाको निःशुल्क उपचार र पोषिलो खानपानको प्रोत्साहनका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले सन् २०३० सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर अन्त्य गर्न दिगो विकास लक्ष्य लिएको छ, तर मधेश प्रदेशमा यो लक्ष्य चुनौतीपूर्ण रहेको देखिन्छ ।




