रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्रमा झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झाडापखालाको प्रकोप फैलिएको छ भने सो मध्ये केही बिरामीमा हैजाको जस्तो संकेत देखा परेको हो ।
बिहिबार र शुक्रबार २२ जना झाडापखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए । सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो ।
प्रादेशिक अस्पतालमा आरडिटी प्रविधिबाट सेम्पल परिक्षण गर्दा ६ जनाको सेम्पल पोजेटिभ अर्थात हैजाको किटाणु फेला परेको स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन् ।
२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको राजपुरका आलमले बताएका छन् । ४ जना उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए ।
प्रादेशिक अस्पताल गौरमा आरडिटी टेष्टबाट ६ जनामा पोजेटिभ देखिएको छ । उक्त टेष्ट सत प्रतिशत भरपर्दो नहुँदा सेम्पलको कल्चर गराउनका जनकपुरधाम पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक आलमले जानकारी दिए ।




