वीरगंज । पर्साको सिर्सिया सुक्खा बन्दरगाहमा चार वर्षअघि भिजेर थन्किएको १२ सय २५ टन डिएपी मल अन्तत: कुहेर नष्ट भएको छ । उक्त मल बन्दरगाहको दक्षिण भागमा राखिएको थियो, जहाँ वर्षौंसम्म उचित व्यवस्थापन नहुँदा मल उपयोगविहीन बनेको हो । यो मल जोर्डनबाट खरिद गरेर समुद्री मार्ग हुँदै ल्याइएको थियो ।
कोलकाता बन्दरगाह हुँदै वीरगन्जसम्म आइपुगेको मललाई ढुवानीको क्रममा बंगालको खाडीमा आएको आँधीले प्रभावित बनाएको थियो । आँधीका कारण मलमा पानी पसेर भिजेको थियो । भिजेको मल नेपाल ल्याइएपछि सुक्खा बन्दरगाह भन्सार कार्यालयले जाँचपास गर्न अस्वीकार गरेको थियो ।
त्यतिबेला २५ हजार टन डिएपी मल आयात भएकोमा अन्तिम लटको २ हजार ५ सय टनमध्ये आधा मल भिजेर प्रयोग गर्न नसकिने अवस्थामा पुगेको थियो । एक वर्षपछि सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त मल कृषि मन्त्रालयलाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो । तर, कृषि मन्त्रालयले मलको निरीक्षण गरेपनि त्यसपछि कुनै चासो देखाएन ।
बन्दरगाह भन्सार कार्यालयले भिजेको मललाई नष्ट गर्ने निर्णय गरे पनि मन्त्रालयलाई हस्तान्तरणको निर्णय भएपछि सो प्रक्रिया रोकिएको थियो । तर, सम्बन्धित निकायले चासो नदेखाएपछि मल थन्किँदै गयो र अन्तत: कुहेर पूर्ण रूपमा बेकार बनेको छ । मल राखिएको क्षेत्रका रुख बिरुवासमेत यसबाट प्रभावित भई मर्न थालेका छन् ।




