काठमाडौं । क्यानडामा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार खराब प्रदर्शन गरेको छ । तीनवटै खेलमा पराजित हुँदा नेपालको ब्याटिङले निराशाजनक प्रदर्शन देखाएको छ । पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो हार ब्यहोरेको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भयो । तेस्रो खेलमा पनि नेपाल क्यानडासँग ५ विकेटले पराजित भयो ।
ब्याट्सम्यानहरूको कमजोर प्रदर्शन
पहिलो खेलमा क्यानडाविरुद्ध नेपालका प्रमुख ब्याट्सम्यान कुशल भुर्तेलले मात्र १ रन, कुशल मल्लले १२ रन र दिपेन्द्रसिंह ऐरीले ८ रन बनाउँदै पभेलियन फर्किए । क्यानडाले दिएको २५३ रनको लक्ष्य पछ्याउँदै नेपाल ४०.१ ओभरमा मात्र १५० रनमा अलआउट भयो ।
दोस्रो खेलमा ओमानविरुद्ध कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई आराम दिइँदा उनीहरूको स्थानमा आएका अर्जुन साउद, अनिल साह र आरिफ शेखले पनि निराशाजनक प्रदर्शन गरे । साउदले ५ रन, साहले ३ रन र शेखले ३४ रन बनाएका थिए ।
कप्तान रोहित पौडेलले भने ६० रन बनाउँदै केही राहत दिए पनि जित सुनिश्चित गर्न पर्याप्त रहेन । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
तेस्रो खेलमा पनि नेपालका ब्याट्सम्यानहरू टिक्न सकेनन् । अर्जुन साउदले १० रन, आशिफ शेखले २ रन, भीम सार्कीले ४ रन र कप्तान रोहित पौडेलले ४ रन बनाएर आउट भए । नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
बलरहरूले पनि रन बनाउनु पर्ने दबाब क्यानडासँगको पहिलो खेलमा बलर गुलसन झाले १५ रन, सन्दीप लामिछानेले २२ रन र करण केसीले २७ रनको योगदान दिए । दोस्रो खेलमा कप्तान पौडेल र गुलसन झाले ठूलो स्कोर बनाए पनि बलरहरूलाई रन बनाउनु पर्ने आवश्यकता रहेको थियो ।
सन्दीप लामिछानेले ११ रन, करण केसी १ रनमा आउट भए भने सोमपाल कामीले २० रनको योगदान दिए । तेस्रो खेलमा पनि सन्दीप लामिछानेले ४९ रन बनाएर नेपालको लाज जोगाए । त्यस्तै, गुलसन झाले ३४ रन, करण केसीले २४ रन र सोमपाल कामीले २१ रन बनाउँदै टिमलाई सम्मानजनक स्कोरमा पुर्याउने प्रयास गरे ।






