रौतहट । मेयर बिहिन रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरवासीको विद्युत महशुल तिर्न र लालबकैया नदीको टेण्डर आहृवान गर्न सर्वदलीय समितिले ज्ञापनपत्र बुझाएको छ । सर्वदलिय सर्घष समितीका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलाई ज्ञापनपत्र बुझाएको हो ।
नगरक्षेत्रका सबै नागरिकको गत असार मसान्तदेखि यस आर्थिक वर्षको विद्युत महशुल बुझाउनु पर्ने, लालबकैया नदीको तत्काल टेण्डर आह्वान गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ । त्यसैगरी लालबकैया नदीबाट हाल भइरहेको नदी जन्य पदार्थको चोरी तस्करी, अबैध निकासी तत्काल रोक्नुपर्ने र टेण्डर पश्चात मानव जनशक्ती लगाई बालुवा गिट्टी उत्खनन गर्ने, ट्याक्टरबाट ढुवानी गर्नुपर्ने, जेसिवी डोजर, टिपरलाई नदीमा प्रवेश निषेध गर्नुपर्ने माग गरिएको छ ।
लालबकैया नदीमा जेसिवी, डोजर, टिपरको प्रयोगले नदीमा अनियन्त्रित उत्खनन् हुने र स्थानिय गरिव विपन्न मजदुरहरु बेरोजगार हुने गरेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ । त्यसैगरी आर्थिक वर्ष २०७७/०७८ र २०८०/०८१ को फतुवा विजयपुर नगरपालिकाको सबै शिर्षकहरूको आम्दनी खर्चको प्रमाणित कागजातहरू नियमानुसार उपलब्ध गराईनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सर्वदलीय संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएका ज्ञापनपत्र बुझाउने टोलीमा समाजवादीका बुधाई खान, माओवादीका लालबाबु पटेल, केशव शिवाकोटी, एमालेका उपेन्द्र यादव, कांग्रेसका कुमार शिवाकोटी, जसपाका विजय चौधरी, आमजनता पार्टीका प्रतिनिधि तथा पूर्ववडा अध्यक्ष दीप नारायण साह लगायतको सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले सम्पूर्ण मागलाई नगर कार्यपालिका बोर्डको बैठकमा पेस गरी हुने निर्णय अनुसार अविलम्ब कार्वान्यनको लागि पहल गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका अध्यक्ष यादवले जानकारी दिए ।
फतुवा विजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव गत निर्वाचन लगत्तै लालबकैया नदीको टेण्डरको मुद्दामा अख्तियारसँगै विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएसँगै उनी निलम्बित भएका थिए । उनी निलम्बित भएपछि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । तर, दुई वर्षको कार्यकालमा हालसम्म लालबकैया नदीको टेण्डर हुनसकेको छैन ।
कार्यवाहक मेयर खातुनको पहलमा गत आर्थिक वर्षमा नगरभरिका नागरिकको विद्युत महशुल एकमुष्ट पालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई बुझाएको थियो ।




