एजेन्सी । बंगलादेशका अनुभवी अलराउण्डर शकिब अल हसनले टी-२० र टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतविरुद्ध दोस्रो टेस्ट अघि मिडियासँग कुरा गर्दै उनले गत टी-२० विश्वकप आफ्नो अन्तिम टी-२० खेल भएको खुलासा गरे । उनले आगामी अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध हुने टेस्ट खेल आफ्नो अन्तिम टेस्ट हुने जानकारी पनि दिएका छन् ।
यद्यपि, शकिबले एकदिवसीय क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् । शकिबले बंगलादेशको वर्तमान परिस्थितिमा खेल्न सक्ने अवस्था भएमा दक्षिण अफ्रिकाविरुद्धको खेल खेल्ने बताएका छन् । आफ्नो सुरक्षाको बारेमा सचेत रहेको र बंगलादेशमा परिस्थिति केही सुधारिएको पनि उनले बताए ।
शकिब बंगलादेशमा शेख हसिना नेतृत्वको पार्टीका निर्वाचित सांसद थिए, र हालै हसिनाको पतनपछि उनीमाथि पनि कानुनी कारबाही गर्नुपर्ने आवाज उठेको थियो । ३७ वर्षीय शकिबलाई विश्व क्रिकेटकै उत्कृष्ट अलराउण्डरमध्ये एक मानिन्छ ।
उनले बंगलादेशका लागि ७० टेस्ट खेल्दै ४६०० रन बनाएका छन् र २४२ विकेट लिएका छन् । उनले २४७ एकदिवसीय खेलमा ७५७० रन र ३१७ विकेट पनि लिएका छन् । टी-२० क्रिकेटमा १२९ खेल खेल्दै २५५१ रन बनाउनुका साथै १४९ विकेटको उपलब्धि हासिल गरेका छन् ।






