काठमाडौं । लगातार तीन दिनदेखि परेको अविरल वर्षा र डुबानले गर्दा मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बाढी र डुबानमा परेर थप ४ जना घाइते भएका छन् ।
प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार सप्तरीमा एक जनाको र महोत्तरीमा दुई जनाको मृत्यु भएको हो । साथै, सिरहामा एक जना र रौतहटमा तीन जना घाइते भएका छन् । सर्लाही जिल्लामा एक जना हराइरहेका छन् ।
बाढी र डुबानका कारण सप्तरी, महोत्तरी र बारामा विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ । यसै क्रममा, पर्सा जिल्लाका ३० परिवारका १६१ जनालाई विस्थापित गरिएको छ, जसको पुष्टि मधेस प्रदेश प्रहरी कार्यालयले गरेको छ ।
प्रवक्ता बोहराका अनुसार प्रहरीले महोत्तरीमा एक जनालाई र रौतहटमा २७ जनालाई सुरक्षित स्थानमा सारेर उद्धार गरेको छ । बाढीका कारण लगभग ११ लाख ८४ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । उद्धार कार्यमा २६८ जना प्रहरी परिचालन गरिएको छ ।




