काठमाडौं । निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव ६ लाख क्यूसेक प्रतिसेकेन्ड नाघेको छ । बिहान ९:५० मा गरिएको मापनअनुसार, कोशी ब्यारेजमा पानीको प्रवाह अत्यधिक उच्चस्तरमा पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ ।
चरम खतराको स्तर पार गरेपछि ब्यारेज क्षेत्रमा ‘हाइ रेड अलर्ट’ जारी गरिएको छ, साथै साइरन बजाइएको छ । पानीको सतह लगातार बढ्दै गएकाले दिउँसो ४ बजेबाट कोशी पुलमा सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ, जसमा अहिले पैदल यात्रुलाई पनि आउजाउ गर्न अनुमति दिइएको छैन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र नसरीका प्रशासनिक अधिकारीहरू, साथै कोसी योजनाका भारतीय प्राविधिकहरूको छलफलपछि पुलमा जोखिम बढेको निष्कर्ष निकाल्दै सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले ब्यारेज पुलमा सवारी आवतजावत रोकिएको पुष्टि गरेका छन् ।
पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ५६ ढोका खोलिएको छ । खतराको संकेत स्वरूप ब्यारेजमा रातो बत्ती बालिएको छ । कोशी नदीमा पानीको बहाव १ लाख ५० हजार क्यूसेक नाघ्नासाथ कन्ट्रोल कक्षबाट सर्वसाधारणलाई सावधान गराउन रातो बत्ती बाल्ने चलन रहेको छ ।




