रौतहट । गत बिहिबारदेखि लगातार परेको अविरल वर्षासँगै रौतहटको विभिन्न नदी र खोलामा आएको बाढीले गर्दा जिल्लामा डुबानमा परेको घरहरूको संख्या १ हजार २४५ पुगेको छ । आइतबार भएका विभिन्न घटनाहरूमा परी ३ जनाको ज्यान गएको छ । जिल्ला पूर्वी क्षेत्रको दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ३५ वर्षीय राजकुमार मुखियाको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
परोहा नगरपालिका ७ नरकटियाकी १४ वर्षीया आशा कुमारी साह घाँस काट्न जाने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको छ भने बौधिमाई नगरपालिका २ ईनरवाका १४ वर्षीय अनिल महतोको आफ्नै ट्युबवेलमा पानी पिउन खोज्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अविरल वर्षाका कारण बागमती, लालबकैया लगायतका विभिन्न नदी र खोलामा आएको बाढीले जिल्लाका १८ मध्ये १३ स्थानीय तह प्रभावित भएका छन् । बाढीबाट वृन्दावन, गढीमाई, माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही, कटहरिया नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका बढी प्रभावित भएका छन् ।




