सर्लाही । लगातारको झरीले सर्लाहीको बागमती नदी किनारका तल्लो तटीय क्षेत्रका बस्तीहरू अझै पनि डुबानमा रहेका छन् । तीन दिनसम्मको अविरल वर्षा रोकिएको २४ घण्टा बितिसक्दा पनि बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका र बसबरिया गाउँपालिकाका एक दर्जनभन्दा बढी बस्तीहरूमा पानी जमिरहेको छ । यी क्षेत्रमा कम्मरसम्म पानी जमेको छ, जसले जनजीवन कष्टकर बनाएको छ ।
स्थानीयहरूका अनुसार घरभित्र राखिएको अन्न र अन्य सर सामग्री डुबानमा परेर नष्ट भएका छन् । धान, तरकारी लगायतका बाली नालीमा पनि ठूलो क्षति पुगेको छ, जसले गर्दा किसानहरू गहिरो चिन्तामा परेका छन् । नयाँ रोपेको धानबाली डुबानमा परेकाले कृषकहरूको मुख्य बाली नै खतरामा परेको छ । वर्षाले केही कच्ची घरहरू पनि भत्किएका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बलरा नगरपालिकाका धेरै वडाहरू र रामनगर गाउँपालिका २ मा डुबानको समस्या गम्भीर रूपमा देखिएको बताए । जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू आइतबार बिहानैदेखि बाढी र डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका थिए । प्रजिअ अधिकारीले डुबान भएका स्थानमा पिउने पानीको समस्या भएको र तत्काल चिउरा, चाउचाउजस्ता खाद्यान्नको जोहो गरिएको जानकारी दिए ।
डुबानग्रस्त क्षेत्रहरूमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । स्थानीय तहसँगको समन्वयमा तटबन्धको काम पनि अघि बढाइएको छ । सुरक्षाकर्मीहरूले निरीक्षणका क्रममा अपेक्षाभन्दा धेरै घरहरू डुबानमा परेको देखिएको बताए ।
बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बागमती नदीको पानीको सतह घटेपनि शनिबारको बाढीले बस्तीहरूमा डुबानको समस्या अझै नघटेको बताए । धेरै कच्ची घरहरू भत्किएका र अन्नपात नष्ट भएको जानकारी दिँदै क्षतिको विवरण संकलन गर्न कार्य भइरहेको नगरप्रमुख कुशवाहाले जानकारी दिए ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजबाबु यादवले नदी तटीय क्षेत्रका बस्तीहरूमा डुबानका कारण चाडपर्वको मुखमा ठुलो समस्या उत्पन्न भएको बताए । बाढीले बागमती नदी किनारका विभिन्न पालिकाहरू, जस्तै बलरा, रामनगर, धनकौल, बरहथवा र बसबरिया क्षेत्रमा सडकसमेत भत्किएको छ । पक्की तथा कच्ची सडकहरूमा क्षति हुँदा आवतजावतमा समस्या भएको स्थानीयहरूले गुनासो गरेका छन् ।




