सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा ७३ वर्षीया वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् । मृतक जगतदेवी बस्नेत आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।
स्थानीय बासिन्दाले घरबाट दुर्गन्ध फैलिन थालेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार, शवको अवस्था हेर्दा दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान गरिएको छ ।
बस्नेत एक्लै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पहिले नै बितिसकेका थिए । जेठा छोरा सर्लाहीको हरिवनमा बस्छन् भने कान्छा छोरा रोजगारीको सिलसिलामा वीरगन्जमा थिए ।
आमा बितेपछि उनी घर फर्किएको निरीक्षक पाठकले जानकारी दिए । वृद्धाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।




