सिरहा । सिरहामा केही दिनअघिको वर्षाले भौतिक र मानवीय क्षति नभए पनि बलान नदी आसपासका सयौँ बिघा खेतीयोग्य जमिन कटान गरेको छ । बलान नदीले तटबन्ध भत्काउँदा नदी किनारका बस्तीहरू बाढीको जोखिममा परेका छन् । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बाढीले तटबन्ध भत्काएर इस्लामपुरको बस्तीमा पसेपछि, करिब ३० घर परिवार बिचल्लीमा परेका छन् ।
बाढीले सयौँ बिघा धान खेत क्षणभरमै सखाप बनाएको छ । स्थानीयहरू ज्यान जोगाउन भाग्न बाध्य भए । यस प्रकारको समस्याले नदी किनारका अन्य बस्तीहरू पनि जोखिममा छन् । हरेक वर्ष बलान नदीले जमिन कटान गर्दा स्थानीयहरू बस्ती बगाउने चिन्तामा बाँच्नुपरेको छ । एक स्थानीयले भने, ‘हामीले दशकौँदेखि आफ्नो जमिन नदीले नष्ट गरेको हेर्नुपरेको छ । बाढीले बस्तीको अस्तित्व नै मेट्ने खतरा छ ।’
तिलेबोनामा मात्र नदीले १० बिघा खेती योग्य जग्गा र आँपको बगान बगाएको छ । नदीको कटान गाउँ नजिक पुगिसकेकाले नियन्त्रण नभए दक्षिणी भेगका गाउँहरू प्रभावित हुने सम्भावना छ । पछिल्लो दशकमा बलान नदीले दर्जनौँ बिघा जमिन कटान गरिसकेको छ, र धेरै नम्बरी जग्गा बगरमा परिणत भएको छ ।
यसले कुनै बेला समृद्ध गाउँहरूलाई उजाड बनाएको छ, र नदीको धार परिवर्तनपछि बाढी, डुबान र कटानको समस्या झनै विकराल बनेको छ । नदी नियन्त्रणका प्रयासमा पर्याप्त बजेटको अभाव रहेको बताइएको छ । अघिल्लो आवमा केहि तटबन्ध निर्माण भएपनि स्थानीय तह र प्रदेश सरकारको प्रयास मात्र पर्याप्त नभएको निष्कर्षमा पुगेका छन् ।




