सर्लाही । जंगली हात्ती ‘गोबिन्दे’को आक्रमणमा परेर हात्ती प्रजनन केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । सर्लाहीको हरिपुर ६ निवासी ३६ वर्षीय जद्दु सिंह थारुको साँझ ७ बजेतिर पसलबाट फर्किने क्रममा जंगली हात्तीले आक्रमण गर्दा निधन भएको हो । सिंहसँगै रहेका अर्को व्यक्ति भने भाग्न सफल भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार, “सिंह प्रजनन केन्द्रतिर जाँदै गर्दा जंगली हात्तीले लखेटेको थियो । उनी भाग्न खोज्दा हात्तीले समातेर घिसार्दै हात र खुट्टा भाँचिदियो । घटनास्थलमै उनको मृत्यु भयो ।” सिंह नेपाल सरकारले कतारलाई उपहार दिन लागेको हात्ती खगेन्द्रप्रसादको पछुवा पदमा कार्यरत थिए ।




