काठमाडौं । नमोबुद्ध नगरपालिका ५ ल्हासकोटका धनकुमार लामाले बाढी पहिरोले बाटो अवरुद्ध भएपछि आफ्नो पसलमा भएका सबै सामान सकिएको बताएका छन् । दसैंको मुखमा घरमा खान पुग्ने स्थिति नभएको उनले बताए । उनका अनुसार, यदि छिटो बाटो खुलाइयो भने नागरिकले केही राहत महसुस गर्नेछन् ।
रोशी गाउँपालिका ७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविकी शिक्षिका अनिता गौतमका अनुसार मुख्य समस्या बाटो, खाद्यान्न र सञ्चारको हो, जसमा सरकारले ध्यान दिनु आवश्यक छ । बाटो बन्द हुँदा खाद्यान्न आपूर्ति ठप्प भएकाले राहतसमेत ढुवानी गर्न कठिनाइ भएको उनले भनिन् ।
रोशी गाउँपालिका ७ का अर्का स्थानीय लोकनाथ गौतमले खानी र क्रसरको अव्यवस्थित सञ्चालनले बाढी पहिरोको क्षति बढेको भन्दै अबका दिनमा सरकारले यस्ता अवैध उद्योगहरूमा कडाइ गर्नुपर्ने बताए ।
असोज १० देखि १२ गतेसम्मको निरन्तर वर्षाले बाढीपहिरो निम्त्याउँदा गाउँदेखि सडक, पुल र बिजुलीका पोलहरू नष्ट भएका छन् । अहिले यातायात, विद्युत् र सञ्चार सेवा ठप्प छ । धेरैले ज्यान गुमाएका छन्, र कैयौँ घाइतेहरू उपचाररत छन् । बाटो अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै रोकिएर गन्तव्यमा पुग्न कठिनाइ झेल्दैछन् ।
रोशी खोलाका आसपासका बासिन्दाको जीवन अहिले झन् कठिन भएको छ । पसलहरूमा सामान नभएकोले नागरिकले चाउचाउ र बिस्कुट समेत किन्न सकिरहेका छैनन् । व्यापारीहरूले नयाँ सामान ल्याउन सक्ने स्थिति पनि छैन ।
बिपी राजमार्गका विभिन्न स्थानहरूमा बाढी र पहिरोले क्षति पुर्याउँदा हजारौँ सवारी साधन ठप्प भएका छन् । दर्जनौँ ठाउँमा बाढीले सडक काटेर क्षति पुर्याएको छ भने कतिपय स्थानमा सडक पहिरोले पुरिएको छ ।
राजमार्ग सुनसान भएको मात्र होइन, आसपासका बस्तीहरू पनि सुनसान छन् । भौतिक संरचनाहरू ध्वस्त हुँदा नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य सेवामा कठिनाइ भइरहेको छ । बाढीले रोशीखोलाका सयौँ रोपनी खेतीयोग्य जमिन र बाली पनि बगाएको छ ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार बाटो, विद्युत् र सञ्चार बन्द हुँदा समुदाय र पालिकाबीचको सम्पर्क टुटेको छ । यद्यपि, उद्धार, राहत र स्वास्थ्योपचारमा केन्द्रित भएर काम भइरहेको उनले बताए । पूर्वतिर जाने वैकल्पिक मार्ग निर्माण पनि दसैं अघि नै पूरा गर्ने योजनामा रहेको उनले जानकारी दिए ।
सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले अस्थायी वैकल्पिक मार्ग बनाउने काम जारी रहेको बताए । अहिले चौकीडाँडाबाट रोशी गाउँपालिकासम्मको २० किलोमिटर क्षेत्रमा अस्थायी मार्ग बनाउन हेलिकप्टरबाट इन्धन ढुवानी गरी काम भइरहेको छ । मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको छ ।
सडक, विद्युत् र सञ्चार टुटेका महाभारत र खानीखोला गाउँपालिकाले पनि सडक मर्मत र सञ्चालनको प्रयास गरिरहेका छन् । महाभारत गाउँपालिकाका जनमुक्ति लोकमार्गलाई बिपी राजमार्गसँग जोड्ने काम भइरहेको छ भने खानीखोला गाउँपालिकाले तालढुंगा सडकखण्ड खुलाउने प्रयास गरिरहेको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको उद्धार कार्य जारी रहेको जानकारी दिए । साथै, विभिन्न १० वटा क्लस्टर निर्माण गरी खाद्यान्न, स्वास्थ्य, कृषि र सञ्चार क्षेत्रमा काम गर्न निर्देशन दिइएको बताए ।




