एजेन्सी । जोए रुट टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । मुल्तानमा पाकिस्तानसँगको पहिलो टेस्टमा ७१ रन बनाउँदा रुटले एलेस्टर कुकलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।
कुकले १ सय ६१ खेलमा ३३ शतक र ५७ अर्धशतकसहित १२,४७२ रन बनाएका थिए । रुटले भने १ सय ४७ खेलमा ३४ शतक र ६५ अर्धशतकको सहयोगमा १२,४७३ रन बनाउँदै कुकलाई पछि छोडेका छन् । यससँगै, रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीहरूको सूचीमा पाँचौं स्थानमा पुगेका छन् ।
यो सूचीमा शीर्ष स्थानमा भारतका सचिन तेंदुलकर छन्, जसले १५,९२१ रन बनाएका छन् । दोस्रो स्थानमा अस्ट्रेलियाका रिकी पोन्टिङ, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका ज्याक कालिस र चौथो स्थानमा भारतीय राहुल द्रविड छन् ।




