एजेन्सी । बेलायतमा कोरोना संक्रमणसँगै नोरो भाइरसले सर्वसाधारणलाई त्रसित बनाएको छ । कोरोनाको प्रतिबन्ध खुकुलो भइरहँदा यसबीचमा त्यहाँ नोरो भाइरसको खतरा बढेको बढेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पब्लिक हेल्थ इंगल्यान्डका अनुसार पछिल्लो पाँच हप्ताको अवधिमा बेलायतमा १५४ जनामा नोरो भाइरसको संक्रमण पाइएको छ । यो भाइरसले अचानक पेट दुख्ने, वान्ता आउने, बिरामी हुने समस्या निम्त्याउँछ ।
नोरो भाइरसको संक्रमण अधिकांश साना विद्यार्थीहरुमा देखिएको जनाइएको छ । पछिल्लो पाँच वर्षमा बेलायतमा औसतमा वर्षेनी मात्र ५३ संक्रमितको दरमा यसका संक्रमित देखिएका थिए । यतिबेला भने यो भाइरसका संक्रमित धेरै देखिएका छन् ।
नोरो भाइरसको खतरा बढेको भन्दै बेलायती डाक्टरहरुले यसबाट बच्ने उपाय सिकाएका छन्। विज्ञका अनुसार नोरो भाइरसबाट जोगिन दोहोर्याउँदै साबुन पानीले हात धुनुपर्छ । सरसफाइमा ध्यान दिएमा यसबाट बच्न सकिन्छ । यो भाइरस अल्कोहलले नमर्ने जनाइएको छ ।
बेलायतमा कोरोना भाइरस नियन्त्रण गर्न लागू भएका सबै प्रतिबन्धान्त्मक नियमहरु आगामी सोमबारबाट हटाइदैछन् । त्यहाँ मास्क लगाउनुपर्ने तथा व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने दुरीको नियम आवश्यक नभएको पनि बताइएको छ ।






