एजेन्सी । इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा लज्जास्पद हारपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्नो टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन गरेको छ । दोस्रो र तेस्रो टेस्टका लागि कप्तान बाबर आजम, स्टार बलर शाहीन शाह अफ्रिदी, नसिम शाह र अनुभवी विकेटकिपर सरफराज अहमदलाई टिमबाट बाहिर राखिएको छ ।
पीसीबीका अनुसार अब्रार अहमद डेंगु संक्रमणका कारण बाहिरिएका छन् । यी खेलाडीहरूको स्थानमा हासिबुल्लाह, मेहरान मुमताज र कामरान घुलामले पहिलो पटक टेस्ट टोलीमा मौका पाएका छन् । त्यस्तै, मोहम्मद अली र अफ स्पिनर साजिद खान पनि टिममा समावेश भएका छन् ।
पहिलो टेस्ट म्याचमा पाकिस्तानले पहिलो इनिङ्समा ५५६ रन बनाए पनि इंग्ल्याण्डसँग पराजित भएको थियो । बाबर आजमको प्रदर्शन निराशाजनक रह्यो, उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा मात्र ५ रन बनाएका थिए ।
पाकिस्तानको दोस्रो र तेस्रो टेस्टका लागि नयाँ टोली: शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हासिबुल्लाह (विकेटकिपर), कामरान घुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।






