सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने अग्निसाइरकृष्ण सवरण गाउँपालिका ४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल लामो समयदेखि अलपत्र अवस्थामा छ ।
वि.सं. २०७१ मा लामा बागमती निर्माण सेवाले पुलको निर्माण सुरु गरेपनि सुस्त प्रगतिको कारणले स्थानीय बासिन्दालाई यातायातमा ठूलो समस्या भइरहेको छ ।
पुल नबन्दा स्थानीयवासी तथा सयौँ सवारी साधनले दैनिक खोला तार्दै आवतजावत गर्नुपर्ने बाध्यता रहेको स्थानीय पिन्टु यादवले बताए । उक्त पुल जिल्लाको सदरमुकाम राजविराजलाई पनि जोड्ने महत्वपूर्ण संरचना भएकोले हजारौँ मानिसले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
तिरहुत गाउँपालिका ३ का बुधिलाल अरगारिया यादवका अनुसार वर्षायाममा खोलामा अत्यधिक बाढी आउने हुँदा आवतजावत थप जटिल बन्ने गरेको छ । पुल समयमै बनेको भए, यस्तो समस्या आउने थिएन ।
त्यसैगरी, पुलसँग जोडिएको करिब दुई किलोमिटर सडक अझै कालोपत्र हुन नसक्दा स्थानीय जनताले थप कठिनाइ सामना गरिरहेका छन् । बज्रगुरु निर्माण सेवा जेभीको जिम्मामा रहेको उक्त सडक कालोपत्र नगर्दा यात्रा थप असुविधाजनक बनेको छ ।
तिरहुत गाउँपालिका ५ बुधेवास्थित अर्को पुल निर्माण सम्पन्न भएपनि त्यससँग जोडिएको करिब एक किलोमिटर सडक कालोपत्र गर्न अझै ढिलाइ भइरहेको स्थानीय देवनारायण यादवले गुनासो गरेका छन् ।




