वीरगञ्ज । नेपाल–भारत सीमाक्षेत्रको मितेरी पुल नजिक मंगलबार दिउँसो गोली चलेको छ । पर्सा प्रहरीले नेपाल–भारत सीमाक्षेत्रको मितेरी पुलको दक्षिणतर्फ भुइँमा गोलीको खोका फेला परेको जानकारी दिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बताए पनि नेपालतर्फका सुरक्षा अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गोलीको खोका बरामद भएको बताए । तर, गोली नै चलाइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
प्रत्यक्षदर्शी महिलाका अनुसार, एसएसबीका एक जवानले भारतीय भूमी अहरिवा टोलमा कवाडी सामान संकलन गरिरहेका दुई महिला र दुई पुरुषलाई लखेट्ने क्रममा गोली चलाएका थिए । ती महिलाका अनुसार, गोली चले पनि कसैलाई नलागेको र त्यसपछि ती महिला र पुरुष नेपालतर्फ भागेका थिए ।




