एजेन्सी । न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिङ लाइनअप पूर्ण रूपमा ध्वस्त भएको छ । न्यूजील्याण्डका उत्कृष्ट बलरसामु भारत ४६ रनमै समेटिएको हो । वर्षाले प्रभावित भएको खेल बिहीबार दोस्रो दिन ढिलो गरी सुरु भएको थियो ।
भारतले लञ्चसम्मै ६ विकेट गुमाउँदै केवल ३४ रन बनाउन सकेको थियो । अन्तत: ३१.२ ओभरमा सबै विकेट गुमाएर ४६ रनमै सिमित भयो । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले सर्वाधिक २० रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
ओपनर यशस्वी जायसवालले १३ रनको योगदान दिए, जबकि कप्तान रोहित शर्मा २ रनमा आउट भए । जसप्रीत बुमराहले १ रन, मोहम्मद सिराजले ४ रन र कुलदीप यादवले २ रन बनाए ।
विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र रविचन्द्रन अश्विन शून्य रनमा आउट भए । न्यूजील्याण्डका लागि म्याट हेनरीले सर्वाधिक ५ विकेट लिए भने विलियम ओ’रोर्कले ४ विकेट लिए । टिम साउदीले पनि १ विकेट लिए। हेनरीले १५ रन दिएर ५ विकेट झारेका हुन् ।
यो टेस्ट सिरिजको पहिलो खेल बेंगलोरमा खेलिएको हो, जहाँ भारतले पहिलो इनिङमा ४६ रन मात्र बनायो, जुन भारतको तेस्रो सबैभन्दा कम स्कोर हो । भारतीय भूमिमा यो कुनै पनि टिमको सबैभन्दा कम स्कोरसमेत हो ।
भारतका पाँच खेलाडी शून्य रनमा आउट भए । भारतको प्लेइङ ११ मा ठूलो परिवर्तन गर्दै सरफराज खानलाई घाइते शुभमन गिलको ठाउँमा राखिएको थियो भने कुलदीप यादवलाई आकाश दीपको सट्टा तेस्रो स्पिनरको रूपमा खेलाइएको छ ।






