काठमाडौं । नेपालले अमेरिकासँगको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा ८ विकेटको जित निकाल्दै नेपालले सिरिज पूर्ण रूपमा आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो भने दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।
आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिरिज क्लिनस्वीप गर्यो । नेपालका लागि आसिफ शेखले ५० रन बनाए भने अनिल शाह १३ रनमा आउट भए । कुशल मल्ल ४४ रनमा र कुशल भुर्तेल ४० रनमा अविजित रहे । अमेरिकाबाट जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिए ।
यसअघि, डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाका सैतेजा मुक्कामल्लाले ६८ रन, मिलिन्ड कुमारले ४३ रन, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । बाँकी ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट हात पारे । यसअघि लिग २ का लागि क्यानडामा खेलेको नेपाली टोलीले निराशाजनक प्रदर्शन गरेको भए पनि अमेरिका पुगेपछि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।






