धनुषा । धनुषामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । हँसपुर नगरपालिका ६ टिल्हीका २२ वर्षीय अरबिन्द कुमार मण्डलको करेन्ट लाग्दा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहका अनुसार, सोमबार साँझ जनरेटरको तार जोड्ने क्रममा मण्डल ११ हजार भोल्टेजको विद्युत् प्रवाहमा परेका थिए ।
स्थानीय अशोक यादवका अनुसार मण्डल टेन्ट हाउस सञ्चालन गर्दै आएका थिए । छिमेकीको घरमा पूजा भइरहेको बेलामा बत्ती गएको थियो, जसले गर्दा मण्डलले जनरेटरको लाइन छिमेकीको घरसम्म पुर्याउने प्रयास गरिरहेका थिए । यही क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भयो ।
उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे । हाल शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।




