रौतहट । पछिल्ला केही वर्षमा रौतहटका वन क्षेत्रहरूबाट काठ तस्करीका लागि पिकअप भ्यानहरूको प्रयोग उल्लेखनीय रूपमा बढेको पाइएको छ । काठ तस्करी गर्न तस्करहरूले भारतीय नम्बर प्लेट भएका साना सवारीसाधन प्रयोग गर्न थालेका छन्, जसले गर्दा उनीहरूलाई छिटो ढुवानी गर्न सजिलो हुने गरेको छ ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार, गत असोज महिनामा मात्र दुईवटा पिकअप भ्यान र एउटा ट्याक्टर बरामद गरिएको थियो । कार्यालयकी सूचना अधिकारी महालक्ष्मी शर्माले असोज ७ गते ३४ क्युफिट काठ र एउटा पिकअप भ्यानसहित तीन जनालाई वन गस्ती टोलीले पक्राउ गरेको बताइन् ।
असोज ८ गते भने ना ४ च ८७९४ नम्बरको टाटा पिकअपबाट १४.२० क्युफिट काठसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । असोज २३ गते ८६ क्युफिट काठ र प्रदेश २-०३-००१ त २०८० नम्बरको ट्याक्टरसहित तीन व्यक्तिलाई पनि पक्राउ गरिएको जानकारी उनले दिइन् ।
गत आर्थिक वर्षमा विभिन्न समयमा पाँचवटा पिकअप भ्यान र पाँचवटा ट्याक्टरसहित काठ चोरी भएको घटनामा वन कर्मचारीहरूले तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेका थिए । यसका साथै, मोटरसाइकल, साइकल र टायरगाडाको प्रयोग गरी काठ तस्करी गर्नेहरू पनि नियमित गस्ती र सुराकीको आधारमा पक्राउ परेको उनले उल्लेख गरिन् ।
गत वर्ष काठ चोरीका ४९ व्यक्तिविरुद्ध मुद्दा चलाइएको थियो भने १,१९४.५८ क्युफिट काठ बरामद गरिएको थियो । २०७९/८० मा ९५ वटा सवारी साधनसहित २,५०० भन्दा बढी क्युफिट काठ बरामद गरिएको थियो, जसमा आठवटा पिकअप भ्यान, तीनवटा ट्याक्टर, एउटा ट्रक, मिनीट्रक, स्कारपियो, ६५ वटा साइकल, पाँचवटा मोटरसाइकल र ९५ वटा रिक्शा समावेश थिए । तस्करीमा संलग्न ५० जना पक्राउ परेका थिए ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहले सङ्घीय र प्रदेश कानूनको असंगति हुँदा बरामद काठ र सवारी साधनको लिलाम हुन नसकेको बताए । बरामद सामग्रीहरू लिलाम नभएसम्म कुहिने अवस्थामा पुग्ने भएकाले राजस्व सङ्कलनमा कमी आएको उनको भनाइ छ । समस्या समाधानका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी उनले दिए ।




