सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा कार्यरत शिक्षकहरूले लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । साउनदेखि तलब नपाएको भन्दै शिक्षकहरूले बुधबार विरोध सभा गरेका थिए, र बिहिबारदेखि विद्यालय ठप्प पारेर नगरपालिका कार्यालयको गेटमा धर्ना दिने निर्णय गरेका छन् ।
बाल गोविन्द जनता माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र प्रसाद साहका अनुसार, तलब नपाउँदा शिक्षकहरू बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । उनले बताए अनुसार, पठन पाठन ठप्प पारेर कार्यालयमा धर्ना दिने निर्णयले समस्या समाधान नभएसम्म निरन्तरता पाउनेछ ।
नगरपालिकामा बजेट अभावका कारण यो समस्या उत्पन्न भएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु यादवले जानकारी नदिई हिँडेपछि नगरपालिकामा बजेट ल्याउन कठिनाइ भएको र विकास कार्यदेखि कर्मचारीको तलब भत्ता रोकिएको मेयर ब्रह्मदेव रायले बताए ।




