सिरहा । चुरेको फेदमा अवस्थित ‘गोसाइ डाँडा ताल’ प्राकृतिक सौन्दर्य र शान्त वातावरणले भरिएको रमणीय स्थल हो । हरियाली जङ्गलले घेरिएको यो तालमा चराचुरुङ्गीको मधुर चिरबिर र सूर्यको किरणले चम्किएको सफा कञ्चन पानी यसका विशेषता हुन् । यहाँको शीतल वातावरणले कहिल्यै गर्मी महसुस हुन दिंदैन ।
लहान नगरपालिका १५ बानोगाउँमा रहेको ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रमा ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको हो । पूर्व-पश्चिम राजमार्गको लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा पर्ने यो ताल जलवायु परिवर्तनको प्रभाव घटाउन संरक्षण गरिएको छ । यहाँ पर्यापर्यटनको पनि विकास गरिएको छ ।
झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यो तालको चारैतिर विभिन्न साना–ठूला पोखरीहरू छन् । प्रकृतिक सौन्दर्य र अन्य पर्यटकीय संरचनाको निर्माणले गर्दा यस स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिएको छ ।
तालको संरक्षण र सौन्दर्यीकरणमा विभिन्न निकायहरूको आर्थिक सहयोग रहेको छ । तालमा बोटिङ, विश्रामस्थल, घुम्ने बाटो, शौचालय, वनभोज स्थलजस्ता संरचना निर्माण भइसकेका छन् भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो छ । भविष्यमा यहाँ भ्युटावर निर्माण गर्ने योजना पनि रहेको छ ।
यो ताललाई पर्यटकीय स्थलको रूपमा विकसित गरी स्थानीयको आर्थिक उपार्जनमा टेवा पुर्याउन प्रयास गरिएको छ । स्थानीय स्रोत साधनको पहिचान र सदुपयोगको लागि उपभोक्ताहरुलाई सक्रिय हुन पनि प्रेरित गरिएको छ ।
यस क्षेत्रको पहुँच सहज बनाउन बानोखोलामा पुल निर्माणको आवश्यकता रहेको छ, जसको लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने प्रयास भइरहेको छ । साथै, चुरे क्षेत्रमा यस्ता पोखरीहरूले भूमिगत जल सञ्चयमा पनि सहयोग पुग्ने बताइएको छ ।
तालको आकर्षणले पोखराको फेवातालको झल्को दिने स्थानीयहरू बताउँछन् । तालको बीचमा रहेको जमिनले यसलाई अझ विशेष बनाएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमनले स्थानीय रोजगारीमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।




