महोत्तरी । महोत्तरी जिल्लाका तीन साझेदारी वनले उपभोक्तालाई सहुलियतमा काठ बिक्री वितरणको अनुमति पाएका छन् । डिभिजन वन कार्यालय, महोत्तरीका अनुसार सालसहित विभिन्न प्रजातिका काठ वितरणको अन्तिम तयारी भइरहेको छ ।
केही वर्षदेखि घाटगड्डीमा थन्किएका ढलापडा काठहरू बिक्री वितरण हुन नसकेकोमा, साझेदारी वन व्यवस्थापन कार्यविधि स्वीकृत भएसँगै प्रक्रिया सहज भएको हो ।
डिभिजन वन कार्यालयका प्रमुख अजय मिश्रले कार्यविधि अभावकै कारण काठ वितरणमा ढिलाइ भएको बताउँदै अब उपभोक्ताहरूलाई सहजरूपमा काठ उपलब्ध गराउन लागिएको जानकारी दिए ।
उनका अनुसार, जङ्गल काँटछाँट र ढलापडा काठ क्रमिक रूपमा वितरण गरिनेछ । सहुलियत दरमा काठ वितरणले घर निर्माण लगायत कार्यमा असुविधा झेलिरहेका उपभोक्ताहरूलाई राहत मिलेको छ ।
बाँके मरहा साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष बलराम यादवले काठका लागि धेरै निवेदन आइरहेको र वितरण प्रक्रिया सहज बनेपछि उपभोक्ताहरूले झ्याल–ढोका लगायत निर्माणमा पुराना काठहरू प्रयोग गर्न सक्ने बताएका छन् ।
महोत्तरीका बाँके मरहा, टुटेश्वरनाथ र गढन्ता साझेदारी वन उपभोक्ता समूहहरूले हाल काठ बिक्री वितरण प्रक्रिया आरम्भ गरेका छन् ।




