सर्लाही । सर्लाहीमा स्यालको आक्रमणबाट तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ प्रवेश गरेको स्यालको समूहले खेतबाट काम गरेर फर्कंदै गरेका र घरमा रहेका स्थानीयमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
बसवरिया गाउँपालिकाका नौ जना, गोडैता नगरपालिकाका तीन जना र बलरा नगरपालिकाका एक जना आक्रमणबाट घाइते भएका छन् । घाइतेहरूमा बसवरिया गाउँपालिका १ का १० वर्षीय रोशन मुखिया, ६० वर्षीय विजय पण्डित, ५५ वर्षीया सिवादेवी साह, ४० वर्षीय सहिद दर्जी, ४० वर्षीय मदैनिया दर्जी र ६ वर्षीय राजु मुखिया छन् ।
यसैगरी, बसवरिया ३ का १५ वर्षीय दीपेन्द्र माझी, बसवरिया ४ की १५ वर्षीया करुणा साह र ६० वर्षीय बद्री मुखिया पनि घाइते भएका छन् । गोडैता नगरपालिका १० का ४० वर्षीया इन्दूदेवी बैठा, ४० वर्षीया प्रेमादेवी मण्डल, ४१ वर्षीय विपद पासवान र बलरा नगरपालिका ४ की ६० वर्षीया सोमरी देवीसमेत घाइते भएका छन् ।
प्रहरीले जानकारी दिए अनुसार घाइते इन्दूदेवी र प्रेमादेवीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । अन्य घाइतेलाई बसवरिया गाउँपालिकाको एम्बुलेन्स मार्फत जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । केही घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्काइएको छ ।




