महोत्तरी । तिहार र छठ पर्वका लागि सीमापारि भारतीय बजारमा सामान खरिद गर्न पुगेका नेपालीहरूले भारतीय रुपैयाँको अभावमा ठूलो बट्टा (कमिशन) तिर्न बाध्य भएका छन् ।
भारतीय बजारमा खरिदका लागि भारु एक सयको साटोमा नेपाली रुपैयाँ १६६ देखि १६८ सम्म बुझाउनु पर्ने अवस्थाले सीमा क्षेत्रका नेपाली ग्राहकलाई चर्को मूल्य चुकाउन परेको छ ।
सीमासँग जोडिएका भिठ्ठामोड, सुरसण्ड, मधवापुर, र साहरघाटजस्ता बजारमा नेपाली ग्राहकले चाडबाडका सामान किनमेल गर्दा भारतीय व्यापारीहरूले मनपरी ढंगले बट्टा लिँदै आएका छन् ।
कपडा र खाद्यवस्तु किनमेल गर्न पुगेका ग्राहकहरूले नेपाली एक हजारका लागि भारु छ सय मात्र उपलब्ध गराएको बताएका छन्, जसमा मोलमोलाई गर्न नपाइने र तोकिएको दरमै कारोबार गर्नुपर्ने सर्तले गर्दा सीमाक्षेत्रका ग्राहकले उच्च कमिशनमा किनमेल गर्नुपरेको छ ।
भारतीय रुपैयाँको अभाव र सुन तस्करी तथा हुण्डी कारोबारको कारण भारतीय बजारमा भारतीय मुद्रा अत्यन्तै न्यून भएपछि, सीमावर्ती नेपाली ग्राहकलाई सामान खरिद गर्दा भारु एक सयको लागि १६६ रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ ।
भारतीय बजारमा कमिशन तिरेर भए पनि सामान सस्तो पर्न सक्ने अपेक्षाले सीमावर्ती बजारमा नेपाली ग्राहकको भीड देखिएको छ ।




