काठमाडौं । अमेरिकामा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल फेरि अमेरिकासँग पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २४४ रनमै सिमित रह्यो ।
अमेरिकाको डालसमा अवस्थित ग्राण्ड पेरी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ४९.५ ओभरमै अलआउट भयो । नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए, उनले ८० बल खेलेका थिए ।
यस्तै अर्का ओपनर आसिफ शेख भने ६ रनमै पेभिलियन फर्किए । त्यसपछि, सोमपाल कामीले ४६, कुशल भुर्तेल र कुशल मल्लले समान २९/२९ रन तथा आरिफ शेखले २१ र दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए ।
अमेरिकाका बलर सौरभ नेत्रावलकरले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारे । अमेरिकाका तीन खेलाडीले अर्धशतक बनाए, जसमा साइतेजा मुक्कामाले ७५ रन बनाउँदै सर्वाधिक रन जोडे ।
कप्तान मोनाक पटेलले ६७ रन र हर्मित सिंहले ५९ रन बनाउँदै टिमलाई मजबुत स्थितिमा पुर्याए । आरोन जोन्सले पनि २६ रन जोडे । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
बलिङतर्फ गुल्शन झाले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए । कुशल भुर्तेलले पनि १ विकेट लिए । यस सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा पनि अमेरिकासँग पराजय भोगेको थियो, तर दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्न सफल भएको थियो ।
अब नेपालले अन्तिम खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ । तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ, ११ खेलमा ५ अङ्क सहित । यसैबीच, १२ खेलबाट १६ अङ्क बटुल्दै अमेरिका शीर्ष स्थानमा पुगेको छ ।






