सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा एक बेवारिसे महिलाले सडक पेटीमा बच्चा जन्माएकी छिन् । आइतबार बिहान करिब ७ बजे मानसिक सन्तुलन ठीक नरहेकी उक्त महिलाले शिशु जन्माएकी हुन् ।
मागेर जीवन बिताउँदै आएकी महिलाले सडक किनारमा बच्चा जन्माएको सूचना पाएपछि स्थानीयले खबर गरेका थिए । यसपछि नगरपालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारी सुरेन्द्र खतिवडा सहितको टोलीले महिला र नवजात शिशुलाई उद्धार गरेको थियो ।
उद्धारपछि महिलालाई नगर अस्पताल, लालबन्दीमा पुर्याएर सामान्य उपचार गरिएको र थप उपचारका लागि जनकपुर पठाइएको खतिवडाले जानकारी दिए । शिशु स्वस्थ भएपनि सुत्केरीको शरीरबाट साल छुट्टिन बाँकी भएकाले सुविधा सम्पन्न अस्पतालमा उपचार आवश्यक रहेको नगर अस्पतालले जनाएको छ ।
महिलाको थप उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा हुनेछ । सुत्केरी महिला र नवजात शिशुलाई मानव सेवाश्रमले राख्न तयार रहेको र उपचारपछि आश्रमकै जिम्मा लगाउने तयारी भएको खतिवडाले बताए ।
चिसो मौसममा सडकमा शिशु जन्मिएको खबर पाएपछि लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिहर भट्टराई, नगरपालिकाको विपद् तथा वातावरण शाखाका कर्मचारी खतिवडा र सुरक्षाकर्मी सहितको टोलीले आमा र शिशुको उद्धार गरेका थिए ।
उद्धार गरिएको महिलाले आफूलाई कृष्णा र भारतको अरैया निवासी बताएकी छिन्, तर यसको पुष्टि हुन बाँकी छ ।




