सप्तरी । तिलाठी कोइलाडी गाउँपालिका १ मा रहेको राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यसम्पादनमा कठिनाइ भएको छ । उक्त कार्यालयमा नायब सुब्बा ८ जना र कार्यालय सहयोगी १० जनाको दरबन्दी भएपनि हाल मात्र पाँच जना कर्मचारी कार्यरत छन् ।
कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार, कार्यालयमा अहिले एक भन्सार अधिकृत, एक लेखापाल, एक कम्प्युटर अपरेटर र तीन कार्यालय सहायकले मात्र काम गरिरहेका छन् । जनशक्ति कम भएकाले कार्यसम्पादन र राजस्व सङ्कलनमा समस्या भएको उनले बताए ।
सिंहले सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा चलाउनुपरेको बाध्यता रहेको जानकारी दिए ।
‘मुख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या छ,’ सिंहले भने, ‘यस विषयमा माथिल्लो निकायमा पाँच पटक पत्राचार गरिए पनि अहिलेसम्म कुनै सुनवाइ भएको छैन ।’




