जलेश्वर । छठ पर्व मनाउन तीन दिनमात्रै बाँकी रहँदा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका गाउँहरूमा छठ पूजाका घाटहरू सजाउने काम तीव्र रूपमा भइरहेको छ । यहाँ प्रमुख चाडका रूपमा मनाइने छठका लागि पोखरी, नदी र तलाउमा बनाइएका मन्दिर र घाटलाई दुलहीझैँ सजाउने तयारी गरिन्छ ।
मिथिलाञ्चलका जलाशयमा एकै पटक धेरै व्यक्तिहरूले छठ पर्व मनाउने परम्परा भएकाले १५ देखि २० दिन पहिलेदेखि नै तयारी गरिन्छ । यस वर्षको छठ पर्वको लागि सजावट र तयारी अन्तिम चरणमा पुगेको छ । सूर्य भगवान र छठ माताको पूजा पानीमा हुने भएकाले जलाशयहरूको सरसफाई, घाट निर्माण र सडकको मर्मत गर्दै अब पंडाल निर्माण, बिजुली जडान र तोरन झुण्ड्याउने कार्यहरू भइरहेको छ ।
स्थानीय जलाशयहरूमा एक महिना पहिलेदेखि नै सरसफाई र मर्मतका कार्यहरू गरिँदै छ । जलेश्वर क्षेत्रका प्रमुख जलाशयहरूमा सजावट गर्ने काम गरिरहेको छ । यसैबीच, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ स्थित पोखरीमा बीच पानीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण गरिरहेको छ, साथै मन्दिरमा पुग्नको लागि तैरिने बाटोको निर्माण पनि भइरहेको छ । स्थानीय जलाशयमा सजावटका काम जारी छन् ।




