वीरगंज । दशैं र दीपावलीका समयमा वीरगंजको बजार केही सुनसान देखिए पनि छठ पर्व नजिकिँदै गर्दा यहाँको बजारमा चहलपहल बढेको छ । विशेष गरी भाइटीकाको दिनदेखि छठपूजाका सामग्री किनमेल गर्नका लागि वीरगंज बजारमा भीड लाग्न थालेको छ ।
छठपूजामा नयाँ कपडा र जुत्ताको खरीद गर्ने परम्पराका कारण कपडा पसल र जुत्ता स्टोरहरूमा ग्राहकहरूको घुँइचो लागेको छ । घण्टाघरदेखि आदर्शनगरसम्मको बजार क्षेत्रमा नयाँ पहिरन खरीद गर्नेहरूको भीडले गर्दा ट्राफिक जाम समेत भइरहेको छ ।
भारतको रक्सौलबाट पनि जिन्स कपडा खरीदका लागि वीरगंज आउनेहरूको संख्यामा वृद्धि भएको छ । खास गरी वीरगंज ब्यारेकदेखि उत्तरतर्फ खुद्रा पसलहरूमा रक्सौल र वरपरका मानिसहरूले जिन्स कपडा खरीद गर्दै आएका छन्, जसले बजारमा भीड बढाएको छ ।
प्रत्येक वर्ष छठका बेला रक्सौल वरपरका बासिन्दाहरू जिन्स कपडाका लागि वीरगंज आउने गर्छन्, किनकि यहाँका जिन्स कपडा रक्सौलको तुलनामा सस्ता पर्छन् ।
दशैं, दीपावली, र छठमा किनमेल गर्न वीरगंज र रक्सौल दुवै ठाउँमा भीडभाड बढ्ने गर्छ । विशेष गरी खाद्यान्न सामग्रीका लागि भने वीरगंजका बासिन्दाहरू रक्सौल जान रुचाउँछन् ।
सशस्त्र प्रहरीले कपडा लगायत सामान ल्याउन केही कडाइ गरेपनि खाद्यान्न सामग्री ल्याउन भने रोक नलगाएको हुँदा यहाँका मानिसहरू छिमेकी रक्सौल पुग्ने गरेका छन् ।
वीरगंजभन्दा रक्सौलको बजार सस्तो भएकोले यहाँका बासिन्दाहरूका लागि यो प्राथमिक गन्तव्य बनेको छ । साथै, कलैया, जीतपुर, निजगढ, सिमरा, पथलैया, हेटौंडा, नारायणगढ, काठमाडौं लगायतका स्थानहरूबाट समेत पर्वको बेला किनमेल गर्न रक्सौल पुग्ने परम्परा रहेको छ ।
दशैंदेखि छठसम्म रक्सौल बजारमा भीडभाड रहन्छ । पुराना परम्परागत पसलहरू र साँघुरा सडकका कारण रक्सौलमा लामो जाम लाग्न सक्छ, तर सस्तो सामानका लागि मानिसहरू रक्सौल जान भने छाड्दैनन् ।




