रौतहट । छठ पर्वको मुख्य दिन आज व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने तयारीमा जुटेका छन् । जिल्लाभरका नदी, पोखरी, जलाशय तथा तलाउ किनारमा बनाइएका छठ घाटहरूमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाइनेछ, र भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ दिएपछि छठ पर्व सम्पन्न हुनेछ ।
जिल्लाका अधिकांश नदी, पोखरी र जलाशय किनारहरूलाई सफा गरेर सजाइएको छ । बत्ती र पण्डालले सजिएका यी छठ घाटहरू दुलहीझैं झलमल्ल देखिन्छन् । लगातार ३६ घण्टासम्म निर्जल र निराहार बसेर गरिने यो छठ व्रत हाल तराईदेखि पहाडसम्म पूर्ण आस्था र श्रद्धासाथ मनाइन्छ ।
जनविश्वास अनुसार, छठ व्रतले मनोकामना पूर्ति, रोग नाश, दरिद्रता हटाउने, सन्तान प्राप्ति र परिवारमा सुख शान्ति ल्याउने मान्यता छ । छठ पर्व केवल हिन्दु समुदायमा मात्र नभई कतिपय मुस्लिम महिलाहरूले पनि मनाउने गरेका छन् ।
खास गरी तराई मधेस क्षेत्रमा छठको अवसरमा छोरी बुहारी तथा व्रतालु महिलाहरू सुनचाँदीका गहना लगाएर घाटमा जाने परम्परा रहेको छ । जिल्ला सदरमुकाम गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगर लगायत जिल्लाका सबै १८ स्थानीय तहका सैकडौं ठाउँमा लाखौं व्रतालुहरूको लागि सजाइएका पण्डालहरू तयार छन् ।
छठ पर्वको समयमा कुनै अप्रिय घटना हुन नदिन रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । छठ घाटहरूको सुरक्षाका लागि ९०० जना नेपाल प्रहरी परिचालित हुने जानकारी सीडीओ हिरालाल रेग्मीले दिएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार छठ पर्वको सुरक्षार्थ ९ वटा मोबाइल टोली, ३ वटा रिजर्भ सहित ४३० प्रहरी परिचालन गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरी प्रमुख एसपी विक्रम हुमागाईँले सशस्त्र प्रहरी बलबाट १५२ जनालाई २४ सै घण्टा ड्युटीमा खटाइएको बताए ।
गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगर र सीमावर्ती भारतीय बजार बैरगनिया, कुण्डवा चैनपुर र घोडाशहनमा पनि छठको सामग्री, किराना सामान तथा कपडा किनमेल गर्न आउनेको चहलपहल निकै बढेको छ ।




