सिरहा । सिरहा र धनुषाको सीमामा अवस्थित कमला नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका १ स्थित उत्तरबाहिनी घाटमा नुहाउने क्रममा मिर्चैया नगरपालिका ५ का १५ वर्षीय लक्ष्मण साहको डुबेर मृत्यु भएको हो ।
कमलामा नुहाउने क्रममा शुक्रबार दिउँसो १२ बजे लक्ष्मणसँगै मिर्चैया ५ कै १६ वर्षीय रोशन मण्डल बेपत्ता भएका थिए । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले उनीहरुको खोजी कार्य थालेको थियो ।
खोजी गर्ने क्रममा लक्ष्मण दिउँसो पौने २ बजे पानीमा तैरिरहेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।
उनको शव मुचुल्का गरी पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । तर, रोशन भने अझै भेटिएका छैनन् । सुरक्षा निकायका विशेष टोली परिचालन गरी उनको खोजी कार्य भइरहेको डीएसपी बाखुले जानकारी दिए ।




