महोत्तरी । महोत्तरीका किसानहरू बाली लगाउने मौसममा बिउको अभावले चिन्तित छन् । गहुँ छर्ने समय नजिकिँदै गर्दा आवश्यक बिउ उपलब्ध नहुँदा किसानहरू समस्यामा परेका छन् । बेलैमा बिउ पाउन नसक्दा वर्षेनि यही समस्या दोहोरिने गरेको उनीहरूको गुनासो छ ।
धान, मकै, गहुँ, आलुजस्ता बालीका लागि भरपर्दो बिउ पाउने अवस्था नभएको भन्दै किसानहरूले सम्बन्धित निकाय प्रति असन्तोष व्यक्त गरेका छन् । धेरैजसो स्थानीय तहमा कृषि शाखा भएपनि किसानले समयमै सेवा नपाएको गुनासो गर्छन् ।
किसानहरूका अनुसार अनुदानका बिउबिजन कहिले आउँछन्, कति उपलब्ध हुन्छन् भन्ने अन्योलले उनीहरूलाई झनै तनावमा पारेको छ ।
स्थानिय बजारमा बिउ उपलब्ध नभएपछि अधिकांश किसान भारतीय बजारमा निर्भर हुने गरेका छन् ।
तर, त्यहाँबाट ल्याइने बिउ पनि कहिले काहीँ गुणस्तरहीन हुने र ठगिने समस्या देखिएको छ । मकै, गहुँ, तरकारीका बिउ भारतीय बजारमा किन्न जाने तर त्यहाँबाट ल्याइएको बिउले राम्रो उत्पादन नदिने किसानहरूको साझा अनुभव हो ।
एक दशकअघिसम्म कृषि सेवा केन्द्र र उपकेन्द्रमार्फत किसानले नमुना बिउ प्राप्त गर्ने र प्राविधिक सल्लाह पाउने व्यवस्था सम्झनलायक रहेको किसान बताउँछन् । तर, स्थानीय तहमा कृषि शाखाको कमजोरी र प्राविधिकहरूको अभावले कृषि क्षेत्रमा उपेक्षा बढेको उनीहरूको भनाइ छ ।
संघीय र प्रदेश सरकारबाट कृषि क्षेत्रमा बजेट विनियोजन भए पनि किसानसम्म सेवा नपुग्ने र बजेट प्रभावकारी रूपमा परिचालन नहुने समस्या जटिल बन्दै गएको छ ।
कृषि क्षेत्रको सुधारका लागि स्थानीय तहहरूले व्यवस्थित कृषि शाखा सञ्चालन गर्नुपर्ने र किसानलाई समयमै बिउ, मलखाद, प्राविधिक सल्लाह तथा सहुलियत ऋण उपलब्ध गराउनुपर्ने किसानहरूको सुझाव छ ।
सरकारबाट कुनै राहतको अनुभूति नपाउँदै किसानहरूले यस पटक पनि आत्मनिर्भर भएर बाली लगाउनु पर्ने बाध्यता झेलेका छन् । कृषि व्यवस्थापनलाई प्राथमिकतामा राख्नु पर्ने आवश्यकता उनीहरूले जोड दिएका छन् ।




