रौतहट । रौतहट जिल्लामा उपचारको नाममा ठगी गर्ने भारतीय महिला-पुरुष गिरोहको नेटवर्कको खुलासा भएको छ । उक्त गिरोहले स्थानीय नेपालीलाई दलालको रूपमा प्रयोग गरेर लाखौँ रुपैयाँ ठगी गरिरहेको पाइएको हो ।
बैरगनिया, भारतका प्रियंका कुमारी नामक महिलाले नेतृत्व गरेको गिरोहले रौतहट जिल्लाको कटहरिया नगरपालिका क्षेत्रमा असाध्य रोग भएका बिरामीहरूलाई लक्षित गरी ठगी गर्दै आएको थियो ।
प्रियंका कुमारीको नेतृत्वमा रहेको गिरोहले नेपाली दलालमार्फत स्थानीय बिरामीहरूलाई भ्रमित गरेर “डाक्टरको आवश्यकता छैन” भनेर भारतीय औषधिहरू बेचिरहेका थिए ।
उनीहरू बिरामीलाई “बिना डाक्टर सबै रोग निको हुन्छ” भन्ने दाबी गर्दै ५ देखि १० हजार रुपैयाँमा औषधि बेच्दै थिए । प्रियंका आफैंलाई “बिरामीको सेवामा समर्पित” भनेर प्रचार गर्दै आएको बताइएको छ ।
ठगीको तरीका र स्थान
गिरोहका सदस्यहरूले कटहरियाका एक घरमा बिहीवारको दिन बिरामीहरूको जम्मा गरेर उनीहरूलाई मानसिक रूपमा प्रभावमा पार्ने भाषण दिँदै औषधि बेचेका थिए । स्थानीय एक बिरामीका अभिभावक सर्फलाल महतोका अनुसार, प्रियंकाले डीएक्स एन फार्मा कम्पनीको औषधि बेच्दै “जुन सुकै रोग निको हुन्छ” भन्ने दाबी गरेकी थिइन् । यसरी, महतोका अनुसार, ७५ जना बिरामीलाई लाखौँ रुपैयाँको ठगी गरिएका थिए ।
गिरोहको सक्रियता र प्रहरीको पहल
प्रहरीलाई सूचनाका आधारमा सक्रिय भएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय कटहरियाले गिरोहको ठगीको धन्दा नियन्त्रणमा लिएको छ ।
प्रहरीले गिरोहका केही सदस्यहरूलाई पक्राउ गरेको छ र भारतीय सहर बैरगनियाबाट ल्याइएका जाँच नगरेका औषधिहरू गौर भन्सार नजिकै बरामद गरेको छ । नेपालमा दर्ता नभएका यी औषधिहरूलाई आवश्यक कार्यवाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
समाजमा चेतना र निगरानीको आवश्यकता
प्रहरी र न्युज कारखानाको सक्रियताले कटहरिया क्षेत्रको ठगी धन्दा रोकिएको भए तापनि अन्य क्षेत्रमा यस्तो गिरोह सक्रिय रहेको र स्थानिय दलालहरूको मद्दतले सैंकडौं नेपालीलाई ठगी भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यस्ता ठगीका घटनाहरू नियन्त्रण गर्न प्रहरी प्रशासनसँगै जनप्रतिनिधि र नागरिक समाजको सक्रिय निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ । समाजमा मानसिक स्वास्थ्य र उपचारको नाममा ठगी गर्न खोज्ने गिरोहको कामलाई रोक्न सबैको सचेतना र समन्वय आवश्यक भएको छ ।




