बारा । देशको राष्ट्रिय गौरवका रूपमा रहेको निर्माणाधीन द्रुतमार्ग पुल क्षेत्रबाट ढुंगा चोरी तस्करी भइरहेको छ । चुरे क्षेत्रबाट बग्ने बकैया खोलामा दिनहुँ अवैध रूपमा ढुंगा उत्खनन भइरहेको भएपनि यसलाई नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन सकेको छैन ।
पुलको संरचना सुरक्षामा खटिएका निकायहरूले ट्याक्टर नियन्त्रणमा लिएपनि तस्करहरू कानूनी प्रक्रिया छल्ने प्रयास गरिरहेका छन् । यसले चोरी तस्करीमा संलग्न गिरोहहरूको मनोबल बढाएको देखिन्छ ।
पुल नजिकका खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दा सतह धसिँदै गएको र यसले पुलका पिलरमा असर गर्ने खतरा बढाएको छ । यसले द्रुतमार्गका संरचनाहरूको स्थायित्वमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।
चुरे क्षेत्रको संरक्षणका लागि नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको भएपनि ऐन उल्लंघन गर्दै ट्याक्टरमार्फत सामग्री चोरी भइरहेको छ । स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायलाई अवैध उत्खनन नियन्त्रण र आवश्यक कारबाहीको अधिकार भएपनि यी गतिविधि नियन्त्रणमा प्रभावकारिता देखिएको छैन ।
प्राकृतिक स्रोतको अवैध उत्खनन र चोरी नियन्त्रण गर्न निगरानी र कानूनी प्रक्रियामा थप कडाइको आवश्यकता देखिएको छ । यस बारे प्रभावकारी कदम चालिएन भने द्रुतमार्ग लगायत चुरे क्षेत्रको पर्यावरणीय र संरचनात्मक सन्तुलनमा दीर्घकालीन समस्या निम्तिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।




