धनुषा । धनुषाको नगराईन नगरपालिकामा चार महिनादेखि तलब नपाएपछि शिक्षक, स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्, जसका कारण कामकाज ठप्प भएको छ । साउनदेखि तलब नपाएका कर्मचारीहरूले दैनिक जीवनयापनमा समस्या परेको जनाउँदै कार्यालय छाडेर आन्दोलन थालेका हुन् ।
नगरपालिकाभित्रका विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र विभिन्न वडाका कर्मचारीले दशैं, तिहार र छठजस्ता महत्त्वपूर्ण पर्वमा समेत तलब नपाएको गुनासो गरेका छन् । “तलब नपाउँदा दैनिक गुजारा चलाउन गाह्रो भएको छ । यस बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भयौँ,” आन्दोलनरत शिक्षकहरूले जनाए ।
नगरपालिकामा नगरसभा बस्न नसक्दा समस्या झन् जटिल बनेको छ । नगरसभाबाट नीति, कार्यक्रम र बजेट पारित नभएकाले तलब वितरण रोकिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको विषयलाई लिएर विवाद हुँदा नगरसभा बस्न नसकेको बताइएको छ ।
नगरपालिकाका प्रमुख र उपप्रमुख फरक पार्टीबाट निर्वाचित भएकाले सुरुदेखि नै आन्तरिक विवाद भइरहेका छन् । यस पटक पनि चालू आर्थिक वर्षको नगरसभा अहिलेसम्म बस्न सकेको छैन । स्थानीय बासिन्दाहरूले आन्तरिक विवादका कारण नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको गुनासो गरेका छन् । आन्दोलनकै क्रममा नगरपालिकाको मुख्यद्वारमा ताला लगाइएको छ ।




