काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंगल्याण्डको क्रिकेट लिग ‘दी हन्ड्रेड’ प्रतियाेगिता गुमाएका छन् । इंगल्याण्ड क्रिकेट बोर्डले उनकाे भिसालाई मान्यता नदिएपछि उनले प्रतियाेगिता खेल्न नपाएका हुन् ।
भिसालाई मान्यता नदिएर देश छाड्न आग्रह गरेको सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । उनी ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए । खेलमा सहभागी हुन नपाउने भएपछि उनी आज वा भोलिमा नेपाल फर्कने तयारीमा छन् ।
सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरेपछि भिसा समस्या आएको हो ।
सन्दीपले फेसबुकमा लेखेका छन् – ‘दी हन्ड्रेडमा पर्न नसकेकोमा म निकै दुःखी छु । मैले यो प्रतियोगिता खेल्नको लागि धेरै कुराहरु गुमाएको थिएँ र मैले त्यहाँका सबै टोलीको लागि राम्रो होस् भन्ने प्रार्थना र चाहना राखेको थिएँ । मैले सधैं बेलायतका मानिसहरुबाट माया पाउँदै आएको छु र म ईसीबीलाई यो विषयमा ध्यान दिन आग्रह गर्न चाहन्छु ताकि अरु कसैले यस्तो झेल्नु नपरोस् ।’







