सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ३ स्थित मुतनी नदीमा नर्घो–फकिरा जोड्ने पुलको निर्माण सुरु भएको ८ वर्ष बितिसक्दा पनि काम अझै अधुरो छ । नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकी लगायत गाउँका बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।
सुक्खा मौसममा जसोतसो यात्रा गर्न सकिएपनि वर्षायाममा दोब्बर दूरीको अर्को बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पुल निर्माणको प्रगति निकै सुस्त भएकाले स्थानीयवासी निराश छन् ।
ठेक्का सम्झौता अनुसार २०७३ मा सुरु भएको यो परियोजना २०७५ सम्ममा सम्पन्न हुने योजना थियो । तर, काम सम्पन्न गर्न पाँच पटक म्याद थप गरिसकिएको छ, र अन्तिम पटक थपिएको म्याद पनि गत कात्तिकमा सकिएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार हालसम्म पुल निर्माणको ८५ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीलाई चार करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी काम चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाइएको छ ।




