बारा । बकैया खोलाबाट अवैधरूपमा उत्खनन् गरिएका ढुङ्गा नगरपालिकाको लापरवाहीका कारण नियन्त्रणमा आउन सकेका छैन । निजगढ नगरपालिका ४ कछडियाबस्ती आसपास दुई करोडभन्दा बढी मूल्यका ढुङ्गा थुपारिए पनि सरोकारवाला निकायहरूले यसमा चासो देखाएका छैनन् ।
गत मङ्सिर ७ गते जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, सुरक्षा निकाय र निजगढ नगरपालिकासहितको टोलीले अवैधरूपमा थुपारिएका ढुङ्गा र क्रसर उद्योगको अनुगमन गरेपनि ठोस कदम चालिएको छैन ।
थुपारिएका २५०० घनमिटर ढुङ्गा (सात हजार टिपभन्दा बढी) कानूनीरूपमा अवैध मानिएपनि ठेकेदारले राजस्व काटेर वैधता दिँदै आएका छन् । ठेकेदार कम्पनीले कात्तिक २२ गतेदेखि खोलाबाट उत्खनन सुरु गरेपनि पहिले नै ठूलो मात्रामा ढुङ्गा थुपारिएको देखिएको छ ।
स्थानीयले प्राकृतिक स्रोत साधनको यो दोहनमा संलग्नलाई कानूनी कारबाही गर्न माग गरेका छन् । बकैया खोलाको चोरी तस्करीले वातावरणीय क्षति पुर्याएको र चुरे क्षेत्रलाई समेत असर गरेको बताइएको छ । सरोकारवाला निकायले समयमै कदम चाल्न नसके प्राकृतिक स्रोतको दुरुपयोग अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।




