रौतहट । मंसिर १६ गते आइतबार हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा आज राति १२ बजेदेखि सीमानाका बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सीमानाका बन्द हुने जनाएको हो ।
भारतसँग जोडिएका रौतहटका लमतरी, मठिया, महुलिया, मनमोहन गेट, बन्जराहा, जयनगर र बरवा नाकाहरू आज राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म बन्द रहने जनाएको छ ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ । मंसिर १६ गते राजपुर नगरपालिका ६, इशनाथ नगरपालिका ७ र गढिमाइ नगरपालिका ८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
साथै, उपनिर्वाचनलाई सहज बनाउन मंसिर १५ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री, वितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासनले जनाएको छ ।





