काठमाडौं । युएईमा जारी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको छ । सान्त्वना जितको खोजीमा रहेको नेपाललाई अफगानिस्तानले १ सय २४ रनको सामान्य लक्ष्य दिएको थियो, जुन नेपालले पूरा गरेको हो ।
युएईको सारजाहमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुँदै १ सय २३ रन जोड्यो । अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
यस्तै खातीर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे । नेपालका लागि युनिश बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।
नेपालले उक्त लक्ष्य अन्तिम विकेट बाँकी हुँदा पूरा गर्यो । खराब सुरुवातका बाबजुत पछिल्लो क्रम सम्हालिँदा नेपालले जित हासिल गरेको हो । नेपालका लागि पछिल्लो क्रममा ब्याटिङ गरेका नरेन साउदले सर्वाधिक २६ रन बनाउँदा नवौं नम्बरमा ब्याटिङका लागि आएका कप्तान हेमन्त धामीले २२ रन बनाए ।
त्यस्तै, अभिषेक तिवारीले १३ रन बनाएका थिए । तेस्रो नम्बरमा ब्याटिङका लागि आएका अर्जुन कुमालले २१ रन बनाएका थिए । एक समय ६९ रनमा ७ वकेट गुमाएको नेपाल हारनजिक पुगेको थियो । तर, पछिल्लो क्रमले सम्हाल्दा जित आत्मासाथ गर्न सफल रह्यो ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।






