बारा । बाराको महागढीमाई नगरपालिका १ बरियारपुरमा जारी पञ्चवर्षीय गढीमाई मेलामा आइतबार झन्डै १० हजार राँगाको बलि चढाइएको छ । बलिपछि राँगाका सिनो नजिकका समुदायका व्यक्तिहरूले लुटेर लगेको बताइएको छ ।
गढीमाई मेला मूल आयोजक समितिका अनुसार करिब तीन हजार पाँच सय रसिद काटिएको थियो, जसमा एक जनाले एकदेखि २१ वटासम्म बलिका लागि शुल्क बुझाएका थिए । समितिले प्रतिराँगाको शुल्क पाँच सय तोकेको थियो ।
आयोजकले शुल्क नबुझाई हजारौँ राँगाको बलि दिएको जानकारी दिए । बलिका लागि सीमामा अवरोध भएपनि नेपालका विभिन्न स्थानबाट स्वतःस्फूर्त रूपमा बलि दिन राँगा ल्याइएको थियो ।
विशेष पूजापछि बिहान ६ बजेदेखि अपराह्न तीन बजेसम्म बलि दिने कार्य भएको हो । बलिपश्चात् आसपासका समुदायले परम्परागत रूपमा राँगाका सिनो लुटेर लगेका छन् ।
समितिले यस पटक बलिका लागि मासुको ठेक्का लगाएको थिएन, तर छालाको ठेक्का लगाइएको थियो । प्रतिछाला रु ६० मा ठेक्का लगाइएको र केही छाला निकालिए पनि धेरैजसो राँगाका छाला सिनोसहित लुटिएको आयोजकले जनाएको छ ।
स्थानीय समुदायले बलिका राँगाको मासुलाई गढीमाईको प्रसाद मान्दै आफ्नो हक रहेको बताउँदै आएका छन् । बलि दिने अधिकांश व्यक्तिहरू मासु नलिएर जाने गरेकाले वातावरण दुर्गन्धित नहोस् भन्नका लागि तत्कालै लिएर जाने गरेको चमार समुदायका एक जनाले बताए ।




