रौतहट । रौतहटको वन क्षेत्रमा चोरी शिकारीको गतिविधि बढेको स्थानीय बासिन्दाले बताएका छन् । वन क्षेत्रको सुरक्षामा कमी, जनशक्तिको अभाव र प्रभावकारी नीतिको अभावले गर्दा चोरी शिकारीको समस्या तीव्र बनेको हो ।
जिल्लाको वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतको जंगलमा सोमबार अन्दाजी १० देखि १२ वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको छ । स्थानीयले कुलोमा बगेर गाउँ नजिकै आएको चितुवाको शव देखेपछि वन कार्यालयलाई खबर गरेका थिए ।
चितुवाको शव वृन्दावन सबडिभिजन वन कार्यालयमा ल्याएर स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर गाडिएको छ । वन कार्यालयका फरेष्टर जयप्रकाश साहका अनुसार चितुवाको मृत्युका कारण बारे विभिन्न अड्कलबाजी गरिएको छ ।
मृत चितुवाको मुखबाट रगत बगेको देखिएपछि स्थानीय बासिन्दाले चितुवा शिकारीको शिकार हुन सक्ने आशंका गरेका छन् । यद्यपि यस बारे औपचारिक पुष्टि हुन सकेको छैन ।
रौतहटका डिभिजन वन कार्यालयका वन अधिकृत रामगणेश साहले भने- ‘चितुवाको मृत्यु प्राकृतिक कारणले भएको दाबी गरेका छन् ।’ उनका अनुसार यदि शिकारीले मारेको भए गोली वा प्रहारको कारण चोट वा घाउ देखिनु पर्ने थियो, तर यस्तो कुनै प्रमाण भेटिएको छैन ।
उनका अनुसार चितुवा बुढेसकालका कारण मरेको हुन सक्ने सम्भावना छ । चितुवाको मृत्युले वन्यजन्तुको संरक्षणमा थप चुनौती ल्याएको छ । शिकारीको संलग्नताको आशंका सन्देहमात्रै भएपनि यसको गम्भीर अनुसन्धान आवश्यक रहेको वन कार्यालयको भनाइ छ ।




